यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्याइरहेका छन् । अरू त अरू, अहिले यो कार्यक्रम ‘नेपाल-निर्देश’ काठमाडौंस्थित नेपाल टेलिभिजनको १२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ।
अजयकुमार- आरामै हुनुहुन्छ ? प्रचण्ड- राजनैतिक रूपमा आराम गरेर बसेको भए अहिले जुन विकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।
अजयकुमार- दस वर्षअघि नेपाली राजनैतिक पार्टीका नेताहरू विदेशी राजदूतहरूलाई भेट्न निवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपछि विदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर निवेदन हाल्ने गरेका छन् । यो परिवर्तनलाई कसरी हेर्नुभएको छ ? प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी थिए । हामी सबैको विवेकमा खिया लागेको स्थिति हो । समग्र देशको भन्दा पनि व्यक्ति, पार्टी र गुटको हितलाई मात्रै अगाडि ल्यायौं । तर, विस्तारै हामीमा एकता, सहकार्य र सहमतिको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्यायो भन्ने हाम्रो ठम्याइ छ ।
अजयकुमार- हिजो तपाईंसँग अमेरिकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच ? प्रचण्ड- मने, अमेरिकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेरि आतंककारी हमलाका कारण अमेरिकामा भोकमरी सुरु भयो, यस्तो विपत्तिमा नेपालले पनि अमेरिकालाई सहयोग गर्नुपर्यो भन्ने कुरा राजदूतले राखे । हामीले पनि मानवीयताका आधारमा अमेरिकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग दिने वचनबद्धता प्रकट गरिसकेका छौं ।
अजयकुमार- हाम्रो इतिहास हेर्दा, हाम्रो देश दाता राष्ट्रहरूबाट ऋण लिएर चल्ने मुलुक, केवल दस वर्षमा नै विश्वका ठूला देशहरूलाई अनुदान दिन सक्ने बनेको छ । कस्तो लाग्छ तपाइंलाई ? प्रचण्ड- यो केवल हाम्रो कारणले भन्दा पनि सम्पूर्ण राजनैतिक पार्टीहरू, नागरिक समाज र आमजनताको सहकार्यको प्रतिफल हो । यो देख्दा निश्चित रूपमा खुसी नहुने कुरै छैन भन्ने हाम्रो ठम्याइ हो । अझ चीनमा आएको बाढीबाट पीडितलाई पाँच करोड डलर अनुदान दिने नेपाल सरकारको हिजोको निर्णयले नेपाल र नेपालीलेको महानता झल्किएको छ भन्ने मलाई लाग्छ ।
अजयकुमार- प्रधानमन्त्रीज्यू, त्यति धेरै सहयोग गर्न सक्नेगरी नेपालले स्रोतचाहिँ कसरी, कहाँबाट जुटाउन सक्यो ? बताइदिनोस् न । प्रचण्ड- हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैनिक खर्च चल्ने गरेको छ । उता कर्णालीको बिजुली तिब्बत, चीन, मंगोलिया, उज्वेकिस्तान र रसियामा बेचेर डरल भित्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वाषिर्क ५० करोडको त औषधि निर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल भित्रिएको रिपोर्ट त तपाईंले पनि हेरिसक्नुभएको छ । छुर्पी, चिया, यार्सागुम्बा, मणिमाणिक्य आदिको व्यापारले पनि हामी अहिले एसियाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थापित भएका छौं ।
अजयकुमार- सरकारले जुन मेचीदेखि महाकालीसम्म बुलेट रेल सेवा सुरु गर्यो नि, यसका बारेमा बताइदिनोस् न ? प्रचण्ड- काँकडभिट्टादेखि कैलालीसम्म केवल तीन घन्टामा पुर्याउने यो रेल सेवा पेट्रोलबिनै हाम्रै त्रिशुलीको बिजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जति भाउ बढे पनि तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।
अजयकुमार- एउटा आरोप छ, यो रेल सेवाले जनतालाई भन्दा ज्यादा नेपाल-भारत सिमानामा क्रियाशील चोर, डाँका, तस्कर र कालोबजारीलाई बढी फाइदा पुगेको छ रे नि ? प्रचण्ड- त्यो सरासर अफवाह हो किनभने नेपाल-भारत सिमानामा दुवै देशका प्रहरीहरू यति क्रियाशील छन् नि, गैरकानुनी रूपमा कोही पनि आवातजावत गर्न सक्दैन । त्यसमा पनि मेचीदेखि कालीसम्म नै नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा १५ सय किलोमिटरको २० फुटे सेक्युरिटी वाल निर्माण भएको छ । त्यसमा करेन्ट जडान गरिएको छ । र, चौबीसै घन्टा स्याटलाइटले कन्ट्रोल र नेपाली सीमा सुरक्षा बलले निरीक्षण गरिरहेकाले नेपाल- भारतबीचको सम्बन्ध यति लामो समयसम्म सुमधुर रहन सकेको हो भन्ने मलाई लाग्छ ।
अजयकुमार- गत साता एउटा सनसनीपूर्ण समाचार आयो, एकजना मानिसले तपाइंलाई कालो झन्डा देखायो रे, हो ? प्रचण्ड- हामी पनि अचम्मित भएका छौं कि यो दस वर्षबीचमा हिंसाको एउटा सानो रूप पनि देशमा देखिएन । तर, यो कालो झन्डा देखाउने घटनाले हामी चिन्तित भएका छौं । कतै हामीले जनताको आशा र अपेक्षामाथि कुठाराघात गरेकाले पो यो डरलाग्दो घटना भयो कि भन्ने लागेको थियो ।
अजयकुमार- किन देखाएका रहेछन् त कालो झन्डा ? प्रचण्ड- आफ्नो अर्बौंको सम्पत्ति राज्यलाई दान दिने उनको इच्छा रहेछ । तर, राज्यको यो नियम छ कि जनताको सम्पत्ति राज्यले कुनै पनि सर्तमा लिनुहुन्न भनेपछि उनले राज्यलाई सहयोग गर्न पाउनुपर्छ भन्ने मागका साथ कालो झन्डा देखाएका रहेछन् । अजयकुमार- अचम्मको परिवर्तन हगि ? उहिले जनता कर तिर्न भनेपछि मरेजस्तो हुन्थे, आज राज्यलाई आफ्नो सम्पत्ति दान दिने हैसियतमा पुगे । कस्तो लाग्छ, केवल दस वर्षमा नै यस्तो संस्कारको विकास भएको छ ? प्रचण्ड- मने, एक्काईसौं शताब्दीको लोकतान्त्रिक संस्कृति भनेकै यही हो जस्तो लाग्छ । अजयकुमार- तपाईं दस वर्षअगाडि एउटा शब्द खुब प्रयोग गर्नुहुन्थ्यो, चमत्कार । आखिर चमत्कार गरेरै देखाइदिनुभयो । समुद्र नै नभएको देश नेपालमा पानी जहाज पनि ल्याइदिनुभयो, कसरी ? प्रचण्ड- बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं कि सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्यो भनेर । त्यसपछि पश्चिम बंगाल, बिहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरतिर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहिले सारा विश्व पनि अचम्मित भएको छ । अजयकुमार- त्यसको मतलब विदेशीलाई नेपालमा कामदार भिसा अब सदाका लागि बन्द गरेको हो त ? प्रचण्ड- हैन, हिजै मात्र डोमेस्टिक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेबियन महिलाका भिसा हामीले इस्यु गरिसकेका छौं । जुम्लाको अन्तर्राष्ट्रिय मिनेरल उद्योगका लागि दस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा निर्माणाधीन नेपाली डिजिनेल्यान्डमा काम गर्ने ५० हजार निर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल भित्रिइसक्नेछन् ।
अजयकुमार- प्रकृतिप्रेमीहरूको आरोप छ कि सरकार काठमाडौंमा बनाएका ८०,१००,१५० तले भवनहरूले काठमाडौंका डाँडाकाँडालाई छेके । यसले प्रकृतिमाथि अन्याय भयो रे, सरकारले के सोचेको छ यस विषयमा ? प्रचण्ड- मने, विकासलाई त कसैले चाहेर पनि छेक्न सक्दैन । योभन्दा बढी भवनहरू काठमाडौंमा नबनून् भन्ने जनताको मागलाई ध्यानमा राखेरै हामी नेपालको शीतकालीन राजधानी विराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र शिशिरकालीन राजधानी ताप्लेजुङलाई बनाएका हौं । अजयकुमार- भनेर भन्ने र अन्तर्वार्ता लिने र दिने दिन कहिले आउला ????


No comments:
Post a Comment