Saturday, December 11, 2010

ट्याम्केडाँडा पर्यटकीय स्थल बन्ने सम्भावना

ट्याम्केडाँडा पर्यटकीय स्थल बन्ने सम्भावना
समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाईमा रहेको खोटाङ र भोजपुर सिमानाबीच अवस्थित ट्याम्केडाँडा पर्यटकीय गन्तव्यस्थल बन्न सक्ने सम्भावना रहेपनि यसको प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

भौतिक पूर्वाधार प्रशस्त नहुँदा पर्यटकीय गन्तव्य आवागमनमा समस्या पर्दै गएपछि पर्यटकीय स्थल बनाउन अहिले खोटाङ र भोजपुरका नागरिक समाज तथा स्थानीयहरू लागिपरेका छन् ।

ट्याम्केडाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गराउनका लागि खोटाङको रतन्छा, खिदिमा, च्यानडाँडा गाविसको संयुक्त टोली बनाई ट्याम्के संरक्षण समितिको गठन गरिएको समितिका अध्यक्ष सिताराम राईले बताउनुभयो ।

त्यस्तै ट्याम्केलाई विकास गराई पर्यटन आवागमन बढाउँदै लाखौं आन्तरिक र वाहृय पर्यटक भित्राउन सन् २०११ मा ट्याम्के महोत्सव गरिन लागिएको अध्यक्ष राईले बताउनुभयो ।

विकासका पूर्वाधारबाट पछाडि परेको ट्याम्केडाँडा महोत्सव गराउनका लागि खोटाङ र भोजपुरको संयुक्त टोली बनाई ट्याम्के महोत्सव मूलआयोजक समितिको समेत गठन गरिएको छ ।

भोजपुरका चन्द्रमणि राईको संयोजकत्वमा सात सदस्यीय मूलआयोजक समिति गठन गरी काम अगाडि बढाइसकिएको समितिका उपाध्यक्ष सीताराम राईले जानकारी दिनुभयो । ट्याम्केडाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गराउनका लागि सरकारले रु. पाँच लाख आर्थिक अनुदान प्रदान गरेको छ ।

पहाडी जिल्ला खोटाङ र भोजपुरलाई चिनाउन सफल ट्याम्केडाँडालाई खोटाङको रतन्छा, खिदिमा, बाँझेच्यानडाँडा भोजपुरको दिल्पा र लेखर्क गाविसले छोएको छ ।

यहाँबाट देखिने सगरमाथा र आसपासका हिमालदेखि तराईमा देखिने सहर बजारले पर्यटकहरूको मन लोभ्याउँछ । बिहानै देखिने सूर्योदयको मनोरम दृश्य हेर्न होस् तथा लालीगुराँस, चिमाल, चाँपजस्ता फूलहरूले वरिपरिबाट ढपक्क ढाकेको ट्याम्के डाँडालाई पर्यटकीय स्थल बनाउन सके देशको पर्यटन विकास टेवा पुग्नेछ ।


निमा शेर्पा  निर्मलीडाँडा -%, खोटाङ

No comments:

Post a Comment