Sunday, December 12, 2010

नमस्ते

सम्झनाको बाढी बगाउनेलाई नमस्ते मायाको भोक जगाउनेलाई नमस्ते खाडीको घामले डढेको बेला खाडीमा चौतारी लगाउनेलाई नमस्ते न त वार न त पार भयको बेला फड्के बनेर संकट भगाउनेलाई नमस्ते बर्ष खीइदा जिन्दगीको आयु खीइय पनि शुभकामना दीइ बाँच्न सगाउनेलाई नमस्ते सम्झनाको बाढी बगाउनेलाई नमस्ते मायाको भोक जगाउनेलाई


निमा शेर्पा  निर्मलीडाँडा -%, खोटाङ

हजुर ।

अब त बाटो हिंड्न पनि
लाज मर्दो भो हजुर
केटीहरु ले नै सिट्ठी बजाउन थाले
आधुनिकता को नाम मा सारी , पटुका र चौबन्दी चोलो छाडी
2 pics मात्र लाउन थाले ।

मेरा दाजु भाईहरु पनि
कहाँ कम छन् र हजुर
कपाल पालेर कुम सम्मै झार्छन्
एक्लै दुक्लै केटी देख्नै नहुने
स्विक्क ss गरी सिट्ठी पार्छन ।

गौतम बुद्ध को देश रे हजुर
रगत नलत्पतिएको कुनै दिन छैन ,
शान्त देश भन्थे तर
चित्कार नगुन्जिएको एकछिन छैन ।

प्रेस स्वतन्त्रताको कुरा गर्छन् हजुर
प्रेस मै दागा धर्छन् यहाँ
आफु कमजोर देखिन्छ कि भनी
प्रेस कै सिसा फोर्छन् यहाँ।

बोका काटी - काटी कन
प्लेन उडाउन थाले हजुर ,
कुकुरलाई सोफा मा राखी
मान्छेलाई चैँ ढाले हजुर ।

नेता पनि कती बाठा
आँफै मात्र खान्छन् हजुर
अख्तियार ले पत्र काटे
बिदेश तिर जान्छन् हजुर ।

राजधानीमै छ हाम्रो
फोहर को त ड्ङ्गुर हजुर
बिकास जती खल्तिमा छ् ,
जनता सबै लङ्गुर हजुर ।
अब तपाईं आँफै भन्नुस् हजुर
कसको नैतीकता हराएको छ यहाँ
कोइली को त नाम निसान छैन
ब्वासो मात्र कराएको छ यहाँ ।

निमा शेर्पा  निर्मलीडाँडा-%, खोटाङ

भुतुङ्गा


भुतुङ्गा कसलाई भन्नुपर्ने हो, सर्बशक्तिमान संसदलाई सोध्नुपर्छ
आधुनिक युवतीहरुलाई भने कसो होला  ?
जस्को शरीरमा लुगा कहाँ छ भनेर खोज्नुपर्छ ।
नारी प्रकृतिको फूलबारी,
यसको हेरचाह गर्ने हाम्रो पनि हो जिम्मेवारी
सिरकलाई खोल हाल्यो कहिल्यै खस्दैन
श्रीमतीलाई खोल हाल्यो जिउमै बस्दैन !

चार रोपनीको शरीरमा दुई आनाको टालो
टालो पनि बाक्लो भए त हुन्थ्यो नि,
दुरुस्त माकुराको जालो
पञ्जा लगाएर औंला छोप्छन्
मिडी लगाएर पिडौंला देखाउँछन्
स्वदेसी फैशन बिर्सिए, बिदेशी फैशन चोरे
औंला र पिडौंला भनेको त आलु र पिडालु जस्ते हो रे !!

हेर्नोस्, केटा भनेको बन्दा हो, केटी भनेको काउली
बन्दाको अगाडी काउली सधैं नै उत्ताउली
सत्रपत्र लुगा लगाउने बन्दा कस्तो भद्र
जन्मँदै घाँगर फिंजाएर जन्मने हेर्नोस् त काउलीको चरित्र !!

महिला आयोगले छानबिन गर्नै पर्यो
केटीहरुले शरीरमा के गरेको छ ?
लुगा लाउने ठाउँमा ट्याटु भरेको छ
बाउले किनिदिएको पाईन्ट कटिटभन्दा तल झरेको छ
ए बैनी, पाईन्ट तल झर्यो कम्मरमा बाँध न भन्दा
पाईन्ट तल सरेको हैन, यो कम्मर नै तल सरेको हो भन्छन्
जय शिव शंकर भोला,
त्यहाँभन्दा तल सर्यो भने के होला !!

कम्मर सरेको हो कि पाईन्ट सरेको हो?
सदनमा छलफल हुनुपर्यो, यसको बिधेयक मगाईदिनु पर्यो
केटीहरुले पाईन्ट कहाँनिर बाँध्ने भनेर
अदालतले निर्णय गरेर आयोगले चिनो लगाईदिनु पर्यो
तेत्तिस प्रतिशत अधिकार माग्नेले
तेत्तिस प्रतिशत लुगा पनि लाउनु पर्यो
कि पारदर्सी लुगा नलगाउ, कि समावेसी अंग नदेखाउ
हैन भने,
छ इन्चको टालो हामीलाई देउ
हामी आँखामा पट्टी बाँधेर हिंड्छौ
तिमी लुगा लाए लाउ, नलाए नलाउ 
 
निमा शेर्पा  निर्मलीडाँडा-%, खोटाङ
Nima sherpa -Nirmali danda, Khotang, Nepal.

Saturday, December 11, 2010

हास्यव्यङ्ग्य

नमस्कार, आज २०७५ साल कात्तिक २४ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा ‘एकता एक्सप्रेस’को सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ । ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् ।

यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्‍याइरहेका छन् । अरू त अरू, अहिले यो कार्यक्रम ‘नेपाल-निर्देश’ काठमाडौंस्थित नेपाल टेलिभिजनको १२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ।



अजयकुमार- आरामै हुनुहुन्छ ? प्रचण्ड- राजनैतिक रूपमा आराम गरेर बसेको भए अहिले जुन विकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।



अजयकुमार- दस वर्षअघि नेपाली राजनैतिक पार्टीका नेताहरू विदेशी राजदूतहरूलाई भेट्न निवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपछि विदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर निवेदन हाल्ने गरेका छन् । यो परिवर्तनलाई कसरी हेर्नुभएको छ ? प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी थिए । हामी सबैको विवेकमा खिया लागेको स्थिति हो । समग्र देशको भन्दा पनि व्यक्ति, पार्टी र गुटको हितलाई मात्रै अगाडि ल्यायौं । तर, विस्तारै हामीमा एकता, सहकार्य र सहमतिको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्‍यायो भन्ने हाम्रो ठम्याइ छ ।



अजयकुमार- हिजो तपाईंसँग अमेरिकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच ? प्रचण्ड- मने, अमेरिकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेरि आतंककारी हमलाका कारण अमेरिकामा भोकमरी सुरु भयो, यस्तो विपत्तिमा नेपालले पनि अमेरिकालाई सहयोग गर्नुपर्‍यो भन्ने कुरा राजदूतले राखे । हामीले पनि मानवीयताका आधारमा अमेरिकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग दिने वचनबद्धता प्रकट गरिसकेका छौं ।



अजयकुमार- हाम्रो इतिहास हेर्दा, हाम्रो देश दाता राष्ट्रहरूबाट ऋण लिएर चल्ने मुलुक, केवल दस वर्षमा नै विश्वका ठूला देशहरूलाई अनुदान दिन सक्ने बनेको छ । कस्तो लाग्छ तपाइंलाई ? प्रचण्ड- यो केवल हाम्रो कारणले भन्दा पनि सम्पूर्ण राजनैतिक पार्टीहरू, नागरिक समाज र आमजनताको सहकार्यको प्रतिफल हो । यो देख्दा निश्चित रूपमा खुसी नहुने कुरै छैन भन्ने हाम्रो ठम्याइ हो । अझ चीनमा आएको बाढीबाट पीडितलाई पाँच करोड डलर अनुदान दिने नेपाल सरकारको हिजोको निर्णयले नेपाल र नेपालीलेको महानता झल्किएको छ भन्ने मलाई लाग्छ ।



अजयकुमार- प्रधानमन्त्रीज्यू, त्यति धेरै सहयोग गर्न सक्नेगरी नेपालले स्रोतचाहिँ कसरी, कहाँबाट जुटाउन सक्यो ? बताइदिनोस् न । प्रचण्ड- हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैनिक खर्च चल्ने गरेको छ । उता कर्णालीको बिजुली तिब्बत, चीन, मंगोलिया, उज्वेकिस्तान र रसियामा बेचेर डरल भित्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वाषिर्क ५० करोडको त औषधि निर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल भित्रिएको रिपोर्ट त तपाईंले पनि हेरिसक्नुभएको छ । छुर्पी, चिया, यार्सागुम्बा, मणिमाणिक्य आदिको व्यापारले पनि हामी अहिले एसियाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थापित भएका छौं ।



अजयकुमार- सरकारले जुन मेचीदेखि महाकालीसम्म बुलेट रेल सेवा सुरु गर्‍यो नि, यसका बारेमा बताइदिनोस् न ? प्रचण्ड- काँकडभिट्टादेखि कैलालीसम्म केवल तीन घन्टामा पुर्‍याउने यो रेल सेवा पेट्रोलबिनै हाम्रै त्रिशुलीको बिजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जति भाउ बढे पनि तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।



अजयकुमार- एउटा आरोप छ, यो रेल सेवाले जनतालाई भन्दा ज्यादा नेपाल-भारत सिमानामा क्रियाशील चोर, डाँका, तस्कर र कालोबजारीलाई बढी फाइदा पुगेको छ रे नि ? प्रचण्ड- त्यो सरासर अफवाह हो किनभने नेपाल-भारत सिमानामा दुवै देशका प्रहरीहरू यति क्रियाशील छन् नि, गैरकानुनी रूपमा कोही पनि आवातजावत गर्न सक्दैन । त्यसमा पनि मेचीदेखि कालीसम्म नै नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा १५ सय किलोमिटरको २० फुटे सेक्युरिटी वाल निर्माण भएको छ । त्यसमा करेन्ट जडान गरिएको छ । र, चौबीसै घन्टा स्याटलाइटले कन्ट्रोल र नेपाली सीमा सुरक्षा बलले निरीक्षण गरिरहेकाले नेपाल- भारतबीचको सम्बन्ध यति लामो समयसम्म सुमधुर रहन सकेको हो भन्ने मलाई लाग्छ ।



अजयकुमार- गत साता एउटा सनसनीपूर्ण समाचार आयो, एकजना मानिसले तपाइंलाई कालो झन्डा देखायो रे, हो ? प्रचण्ड- हामी पनि अचम्मित भएका छौं कि यो दस वर्षबीचमा हिंसाको एउटा सानो रूप पनि देशमा देखिएन । तर, यो कालो झन्डा देखाउने घटनाले हामी चिन्तित भएका छौं । कतै हामीले जनताको आशा र अपेक्षामाथि कुठाराघात गरेकाले पो यो डरलाग्दो घटना भयो कि भन्ने लागेको थियो ।



अजयकुमार- किन देखाएका रहेछन् त कालो झन्डा ? प्रचण्ड- आफ्नो अर्बौंको सम्पत्ति राज्यलाई दान दिने उनको इच्छा रहेछ । तर, राज्यको यो नियम छ कि जनताको सम्पत्ति राज्यले कुनै पनि सर्तमा लिनुहुन्न भनेपछि उनले राज्यलाई सहयोग गर्न पाउनुपर्छ भन्ने मागका साथ कालो झन्डा देखाएका रहेछन् । अजयकुमार- अचम्मको परिवर्तन हगि ? उहिले जनता कर तिर्न भनेपछि मरेजस्तो हुन्थे, आज राज्यलाई आफ्नो सम्पत्ति दान दिने हैसियतमा पुगे । कस्तो लाग्छ, केवल दस वर्षमा नै यस्तो संस्कारको विकास भएको छ ? प्रचण्ड- मने, एक्काईसौं शताब्दीको लोकतान्त्रिक संस्कृति भनेकै यही हो जस्तो लाग्छ । अजयकुमार- तपाईं दस वर्षअगाडि एउटा शब्द खुब प्रयोग गर्नुहुन्थ्यो, चमत्कार । आखिर चमत्कार गरेरै देखाइदिनुभयो । समुद्र नै नभएको देश नेपालमा पानी जहाज पनि ल्याइदिनुभयो, कसरी ? प्रचण्ड- बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं कि सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्‍यो भनेर । त्यसपछि पश्चिम बंगाल, बिहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरतिर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहिले सारा विश्व पनि अचम्मित भएको छ । अजयकुमार- त्यसको मतलब विदेशीलाई नेपालमा कामदार भिसा अब सदाका लागि बन्द गरेको हो त ? प्रचण्ड- हैन, हिजै मात्र डोमेस्टिक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेबियन महिलाका भिसा हामीले इस्यु गरिसकेका छौं । जुम्लाको अन्तर्राष्ट्रिय मिनेरल उद्योगका लागि दस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा निर्माणाधीन नेपाली डिजिनेल्यान्डमा काम गर्ने ५० हजार निर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल भित्रिइसक्नेछन् ।



अजयकुमार- प्रकृतिप्रेमीहरूको आरोप छ कि सरकार काठमाडौंमा बनाएका ८०,१००,१५० तले भवनहरूले काठमाडौंका डाँडाकाँडालाई छेके । यसले प्रकृतिमाथि अन्याय भयो रे, सरकारले के सोचेको छ यस विषयमा ? प्रचण्ड- मने, विकासलाई त कसैले चाहेर पनि छेक्न सक्दैन । योभन्दा बढी भवनहरू काठमाडौंमा नबनून् भन्ने जनताको मागलाई ध्यानमा राखेरै हामी नेपालको शीतकालीन राजधानी विराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र शिशिरकालीन राजधानी ताप्लेजुङलाई बनाएका हौं । अजयकुमार- भनेर भन्ने र अन्तर्वार्ता लिने र दिने दिन कहिले आउला ????




ट्याम्केडाँडा पर्यटकीय स्थल बन्ने सम्भावना

ट्याम्केडाँडा पर्यटकीय स्थल बन्ने सम्भावना
समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाईमा रहेको खोटाङ र भोजपुर सिमानाबीच अवस्थित ट्याम्केडाँडा पर्यटकीय गन्तव्यस्थल बन्न सक्ने सम्भावना रहेपनि यसको प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

भौतिक पूर्वाधार प्रशस्त नहुँदा पर्यटकीय गन्तव्य आवागमनमा समस्या पर्दै गएपछि पर्यटकीय स्थल बनाउन अहिले खोटाङ र भोजपुरका नागरिक समाज तथा स्थानीयहरू लागिपरेका छन् ।

ट्याम्केडाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गराउनका लागि खोटाङको रतन्छा, खिदिमा, च्यानडाँडा गाविसको संयुक्त टोली बनाई ट्याम्के संरक्षण समितिको गठन गरिएको समितिका अध्यक्ष सिताराम राईले बताउनुभयो ।

त्यस्तै ट्याम्केलाई विकास गराई पर्यटन आवागमन बढाउँदै लाखौं आन्तरिक र वाहृय पर्यटक भित्राउन सन् २०११ मा ट्याम्के महोत्सव गरिन लागिएको अध्यक्ष राईले बताउनुभयो ।

विकासका पूर्वाधारबाट पछाडि परेको ट्याम्केडाँडा महोत्सव गराउनका लागि खोटाङ र भोजपुरको संयुक्त टोली बनाई ट्याम्के महोत्सव मूलआयोजक समितिको समेत गठन गरिएको छ ।

भोजपुरका चन्द्रमणि राईको संयोजकत्वमा सात सदस्यीय मूलआयोजक समिति गठन गरी काम अगाडि बढाइसकिएको समितिका उपाध्यक्ष सीताराम राईले जानकारी दिनुभयो । ट्याम्केडाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गराउनका लागि सरकारले रु. पाँच लाख आर्थिक अनुदान प्रदान गरेको छ ।

पहाडी जिल्ला खोटाङ र भोजपुरलाई चिनाउन सफल ट्याम्केडाँडालाई खोटाङको रतन्छा, खिदिमा, बाँझेच्यानडाँडा भोजपुरको दिल्पा र लेखर्क गाविसले छोएको छ ।

यहाँबाट देखिने सगरमाथा र आसपासका हिमालदेखि तराईमा देखिने सहर बजारले पर्यटकहरूको मन लोभ्याउँछ । बिहानै देखिने सूर्योदयको मनोरम दृश्य हेर्न होस् तथा लालीगुराँस, चिमाल, चाँपजस्ता फूलहरूले वरिपरिबाट ढपक्क ढाकेको ट्याम्के डाँडालाई पर्यटकीय स्थल बनाउन सके देशको पर्यटन विकास टेवा पुग्नेछ ।


निमा शेर्पा  निर्मलीडाँडा -%, खोटाङ